काठमाडौं । बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख पुगेको छ । बैंकिङ क्षेत्रमा पछिल्लो समय भित्रिएको मोबाइल बैंकिङ प्रयोग गर्ने मानिसको संख्या अहिले ५० लाख ८६ जना पुगेको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा समय मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या ह्वात्तै बढेको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढिले मोबाइलबाट बैकिङ सुविधा लिनेको ग्राहक संख्या बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्षको भाद्रसम्म यस्तो सेवा लिनेको संख्या २६ लाख ६९ हजारमात्र थियो ।
तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ ग्राहकको संख्या करिब ५१ लाख र इन्टरनेट बैंकिङ ग्राहकको संख्या आठ लाख ३४ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रको पछिल्लो प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहक तानिएका छन् । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमका रूपमा मोबाइल बैंकिङलाई हेरिने गरिएको छ । त्यसले क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने बैंकरहरू बताउँछन् ।
मोबाइल बैकिङ प्रणालीमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको बिल भुक्तान गर्र्न, डेभिटरक्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली तथा पानीको पैसा तिर्न सकिनेछ ।
नेपालमा सन् २००५ मा पहिलो पटक मोबाइल बैंकिङको सुरुवात भएको थियो । स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा यो सेवाको सुरुवात गरेको हो। सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको हेरफरेका बारेमा जानकारी गराउने सुविधाको विकास गरेको थियो । बैंकले त्यस समयमा १० वटा नम्बर भएकै सिमबाट ग्राहकलाई कारोबारबारेमा जानकारी गराउँथ्यो।
त्यसपछि सन् २००९ मा आएर नेपालमा पहिलोपटक मोबाइल मनिको सुरुवात भएको हो । यसको सुरुवात लक्ष्मी बैंकले गरेको थियो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातामा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिन्थ्यो ।
सन् २०१४ मा आएर बल्ल पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात भएको हो । ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो । ग्लोबल बैंकले पहिलोपटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारित स्मार्ट बैंकिङको सुरुवात गरेको हो । अहिले प्राय सबै बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा दिइरहेका छन् ।
वाणिज्य बैंक र विकास बैंक गरी ४६ वटा बैंक रहेमा अहिले मोबाइल बैंकिङ सेवा छ। त्यसमा २६ वटा बैंकले डेटामा आधारित बैंकिङ सेवाको सुरुवात गरिसेकेका छन् ।




