काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथकाे समय सरेको छ । आज बिहान साढे १० बजे लिने भनेको शपथ बेलुका ५ बजेलाई सरेको हो ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेबाट ५ बजेलाई सरेको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीसहित बिहान साढे १० बजे शपथ हुने बताइएको थियो ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याबिनेटका मन्त्री दोहोरिने संकेत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार, राककुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए । उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि बिहानको शपथग्रहण बेलुका सारिएको हो ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम पनि मन्त्री बन्नेछन् । आज काँग्रेसबाट प्रदीपकुमार सुनुवार, माओवादीबाट बाबुराम गौतम र नेकपा एसबाट कमल जबेगुले आज शपथ लिने बताइन्छ ।
प्रतिकृया दिनुहॊस