काठमाडौं । बडादशैँको आज नवौं दिन आज बिहीबार महानवमी पर्व मनाइँदैछ । आज दुर्गा भगवतीकी नवौं रूप सिद्धिदात्री देवीको पूजा–आराधना गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । नवदुर्गाको प्रसाद भने भोलि अर्थात विजयादशमीका दिन बिहान लगाइन्छ ।
सिद्धिदात्री देवीको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ।
तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।
आज दसैंघर र कोतलगायत मुलुकको कुनाकाप्चामा रहेका विभिन्न देवीका मन्दिरहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ ।
अधिकांश ठाउँमा महाष्टमीको दिन दसैंघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।
नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ।
नवरात्रभर विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ।
यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन्।
बडादशैँको नवौं दिनः आज महानवमी/सिद्धिदात्री देवीको आराधना गरिँदै
तपाईंको प्रतिकृया




