काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गीय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । गत असार २७ गते दिवंगत भएकी दाहालको स्मरणमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो ।
श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए । उनले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतीबाट गरिएको स्मरण गरे । उनले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उहाँको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरुले ठानेको उल्लेख गरे । उनले घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवालाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताए ।




