राष्ट्रिय घरभाडा सरोकार समितिले गर्‍यो घरभाडामा छुट दिन माग

काठमाडाैँ । आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनी समक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।

समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैले तिर्न आग्रह गरे । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ ।

‘घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनु परिरहेको छ’, समितिका अध्यक्ष न्यौपानेले भने, ‘संकटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो ।’ कोभिड-१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक संकटका कारण झन्झ्न मारमा परेको उनले बताए । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ ।

अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए । उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताए । समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्न समेत समितिले अनुरोध गरेको छ । ‘यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्’, उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री