काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले, यो सरकार सफल हुनुको विकल्प नभएको बताएका छन् । बुधवार, धनी राम पौडेलको चौथो स्मृति विशेष कार्यक्रममा बेल्दै उनले, सरकारलाई सफल बनाउन नसके पार्टीलाई स्थापित गर्न नसकिने भन्दै कुनै पनि हालतमा सरकारलाई सफल बनाउनु पर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्री नै हाम्रै पार्टीको हुनुहुन्छ, म आफैँ वरिष्ठ उपाध्यक्ष गृहमन्त्रीको रूपमा सरकारमा छु। यो बेलामा हामीले सरकारलाई सफल बनाउन सकेनौ भने हामी, र हाम्रो पार्टीले आफूलाई स्थापित गर्न सक्दैन । यो बेलामा हर हालतमा सरकारलाई सफल बनाउन पर्छ ।’
त्यस्तै उनले माओवादी नेतृत्वमा देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि जनताले त्यसको अनुभूति गर्न नपाएको स्वीकार गरे । शिक्षा,स्वास्थ्य जस्ता आधारभूत कुरामा गुणात्मक र परिमाणमुखी समृद्धि दिनका लागि सरकार सफल हुनै पर्ने उनको भनाई छ ।
‘राजनीतिक परिवर्तन जुन आयामको भयो,त्यही पहिमानाको आर्थिक सामाजिक रूपान्तरण हुन सकेन र जनताले यो राजनीतिक परिवर्तनले निर्देश गरेको र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रूपान्तरण समृद्धिको अनुभूति गर्न पाएका छैनन् । जुन उचाइ, गहिराई, व्यापकताको परिवर्तन भएको हो,जनताले स्वास्थ्य ,शिक्षा,रोजगारीलगायतका विविध कुरामा आवश्यकता पूरा भएको र परिवर्तन राजनीतिक नेतृत्वको पोल्टामा सीमित भएन भन्ने अनुभूति गर्न पाउनु पर्थ्यो ।’




