सुरुभयो दुईदिने एघारौँ राष्ट्रव्यापी साउथवेष्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम 

काठमाडौँ । वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ ।  प्रदर्शनी बिहीबारबाट कलेज प्राङ्गणमा सुरु भएको हो ।

शुक्रबारसम्म चल्ने प्रदर्शनीको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक समारोहकाबीच उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले जबसम्म बोल्ने लेख्ने स्वतन्त्रता हुँदैन तबसम्म शिक्षा स्वास्थ्यमा विकास नहुने बताए । वर्तमान अवस्थामा रहेको शिक्षा प्रणालीमा रहेका विकृतिलाई सुधार गर्दै जीवनोपयोगी शिक्षा दिनुपर्नेमा उनको भनाई छ ।

उद्घाटन समारोहमा विशेष अतिथि तारकेश्वर नगरपालिका मेयर कृष्णहरी महर्जनले उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश लाने भन्दा पनि विदेशी विद्यार्थीलाई नेपाल ल्याउन सकिने बताए । तारकेश्वले शिक्षा व्यवस्था प्रणाली पाठ्यक्रम शिक्षामा लगानी गरिरहेको उनले बताए ।

टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईँले संस्थागत स्कुल र सामुदायिक स्कुललाई हेर्ने दृष्टिकोण फरक रहेका बताए । उनले विद्यालयप्रतिको सोचलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको परिवर्तनकारी शिक्षा दिनुपर्ने बताउँदै परिवर्तनकारी शिक्षाले नै सम्पूर्ण कुराको विकास हुनेमा जोड दिए ।

कलेजका डाइरेक्टर डा. राजेन्द्र केसीले अहिलेसम्म आफूहरू फस्ट हुने मोडल शिक्षामा लागको बताउँदै फस्ट हुने मोडलले नै देशलाई अगाडि बढाउने तर्क गरे । साथै उनले जसले व्यावहारिक शिक्षा आर्जन गर्छ र निरन्तर धैर्यताका साथ अगाडि बढ्छ उसले नै जीवनमा सफलता प्राप्त गर्ने बताए ।

प्रदर्शनीमा काठमाडौँका ६० भन्दा बढी स्कुलको सहभागिता छ । रक्तदान, निःशूल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, दन्त परीक्षण, रोबोटिक कम्पिटिसन, सोलार अब्जर्भेशन, विज्ञान परियोजना प्रस्तुतीकरण, सांगीतिक कार्यक्रम प्रहसन पनि  प्रदर्शनीमा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री