काठमाडाैँ । सुदूरपश्चिम प्रदेशसभामा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नु पर्नेछ ।
सुदूपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेकाले तानातानमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।
प्रदेश सरकारको नेतृत्वको दौडमा रहेका एमाले संसदीय दलका नेता राजेन्द्र रावल अहिलेको सत्ता गठबन्धनमा रहेका सबै दलहरूबीच साझा सहमतिको वातावरण बनाउन छलफल जारी रहेको बताउँछन् ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।



