काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको विषयमा सरकार निर्मम हुने दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै लामिछानेले भने, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ । यसअघि भएका भ्रष्टाचारका घटनाको छानबिनमा पनि संसद् क्रियाशील हुनुपर्छ । कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाब नदिनुहोला ।’
गृहमन्त्रीसमेत रहेका लामिछानेले विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने र आफ्नो दलका नेता तथा सांसद अनियमिततामा सहभागी नहुने साथै नागरिकलाई दुःख नदिने दाबी गर्दै भने, ‘मुलुक र मुलुकवासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौँ । हाम्रो सांसदहरूको सांसदका कारण शिर झुकाउनुपर्ने छैन । कुनै अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्ममभन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफ्नो दलले पाएको मत निराशा नभई आशाको मत भएको जिकिर गरे ।




