लुम्बिनीमा मुख्यमन्त्रीका लागि आज दावी पेश गरिँदै

काठमाडौं । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने भएको छ। नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि दावी पेश गर्दैछन्।

सत्तासाझेदार दलहरूको राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले आज अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको थियो। लुम्बिनीमा अहिले १३ मन्त्रालय छन्। तर सुरुमा सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी छ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा उपलब्ध गराएका थिए । समय २७ गते बुधबार ४ बजेसम्मको समयसीमा शेरचनले दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप