सत्ता गुमेपछि सुस्ताएका देउवा फेरि सक्रिय

काठमाडौँ । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएर अचानक प्रतिपक्षीमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलका नेताहरुसँग संवाद बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि आगामी पुस २६ गते विश्वासको मत लिने तयारीमा छन् । यस्तोमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सात दलीय गठबन्धनका नेताहरुसँग धुम्बाराही निवासमा संवाद गरिरहेका छन् । देउवाले बुधबार नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरसँग वार्ता गरेका थिए । देउवानिवास धुम्बाराहीमै पुगेका शर्मासँगको वार्ताबारे केही खुलाइएको छैन ।

पाँच दलीय गठबन्धन टुटे पनि कांग्रेसले केही प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन सकिने सम्भावना देखेको छ । ती प्रदेशमा सरकार बनाउन उसले सात दलीय गठबन्धनका दलहरुसँग संवाद अघि बढाइरहेको छ । तर माओवादी नेतृत्वको सरकार केन्द्रमा रहेका बेला देउवा र जनार्दन शर्माबीचको संवादलाई अर्थपूर्ण मानिएको छ ।

बुधबार सात दलीय गठबन्धनको बैठकमा सहभागी भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि बिहीबार धुम्बाराही पुगे । मधेश प्रदेशमा सरकारको नेतृत्व खोजिरहेका यादवले संघीय सरकारलाई समर्थन दिए पनि मन्त्री पठाएका छैनन् । देउवाले मधेशसहितका अन्य प्रदेशमा जसपासहितका दलको साथ लिएर सरकार बनाउन सकिने सम्भावना देखेका छन् ।

जसपा अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा पराजित भएपछि रामसहायप्रसाद यादव दलको नेता बनेका छन् । तर जसपाले अहिलेसम्म सरकारमा मन्त्री पठाउन आनाकानी गरिरहेको छ । देउवाले सरकारबाट बाहिरिएपछि धुम्बाराहीमा केन्द्रित रहेर कांग्रेस र अन्य दलका नेताहरुसँगको वार्तालाई तीव्र पारिरहेका हुन् । प्रचण्ड नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन् । सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो ।

त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन (पुस २७ गते) सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ । प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ ।

कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ (३) को अवस्थामा पुर्‍याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको स्रोत बताउँछ । यो कसरतमा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलासहितका नेता सक्रिय छन् भने पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री