मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटबारे सत्तासीन दलहरूले थाले आन्तरिक गृहकार्य

काठमाडौँ । नयाँ सरकार गठनसँगै सत्तारूढ सात दलले थप मन्त्रिपरिषद विस्तार र शक्ति बाँडफाँटका लागि आन्तरिक छलफल थालेका छन् । मन्त्रिपरिषद् विस्तार तथा शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनले अध्यक्षस्तरीय संयन्त्रमार्फत् टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीको सहभागिताको विषय अन्तिम टुङ्गो लागेपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी शक्ति बाँडफाँट गर्ने तयारी छ । सरकारलाई समर्थन गरेका सातमध्ये तीन दल जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् ।

‘पर्ख र हेर’ को रणनीति लिएको जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र तय गर्ने भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ । त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री