काठमाडाैं । पार्टी निर्माणमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता भएकै दिनदेखि वरिष्ठताको एजेण्डा उठाएको उठायै छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पदबाट राजीनामा नै दिनुपर्ने अबस्था आयो। उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेता माधब नेपाल भन्दैछन्–पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिँदैछ । के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार विहान नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले हात्तिवनस्थित निबासका पार्टीका युवा विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरेका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
तोकिएका मिति र समयमा बैठक नबस्ने, एकता प्रक्रियाको कामले तीव्रता नपाउने जस्ता कारणमा उनले मुखै खोलेर ‘गुटको कारण’ त भनेनन् तर यसप्रति उनी असन्तुष्ट छन् भन्ने संकेत भने दिए ।
कसका छन् गुट ?
नेकपाभित्र दृश्य-अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन् । प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो । तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ । उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन् । महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन् ।
सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन् । यस हिसाबले पनि ओली पार्टीमा हाबी छन् । ओली समूहबाट तत्कालीन एमालेमा महासचिव जितेका ईश्वर पोखरेल भने पछिल्ला दिनमा उनीसँग असन्तुष्ट छन् । विष्णु पौडेललाई महासचिव बनाइएको र सरकारमा आफुले रोजेको मन्त्रालय नदिएकोमा उनी ओलीसँग सन्तुष्ट बन्न सकेका छैनन् । तर क्याम्पै छोडेर हिंडेका पनि छैनन् । उनी अहिले दोधारमा छन् ।
ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को । तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै छन् । स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन् । दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली छन् । शक्ति अभ्यासमा माओवादी समूहभित्र खुल्ला रूपमै यी दुई नेताले अलग–अलग समूह चलाएका छन्। प्रदेश इन्चार्ज तथा पदाधिकारी चयन प्रक्रियामा अहिले दाहाल खेमाभित्र पनि वर्षमान पुन हाबी भएको चर्चा छ। प्रदेश कमिटी पदाधिकारीमा दाहाल पक्षका ८ नेताले जिम्मेवारी पाएका छन्।
अन्य नेताहरू पनि दाहालकै वरिपरि छन्। तर पात्र भएपनि गुट व्यवस्थापनमा ती नेताहरू निकै कमजोर देखिन्छन्। टोपबहादुर रायमाझीलगायतले अलग गुट अस्तित्वमा देखाउन सकेका छैनन्। कहिले वर्षमान त कहिले जर्नादनसँगै रायमाझीलगायत नेताहरूको सहकार्य र संर्घष चल्दै आइरहेको छ। मणि थापा, मातृका यादव र देवेन्द्र पौडेलहरू जिम्मेवारीमा खासै खुसी देखिँदैनन्। कुनै न कुनै रूपमा यी नेताका पछाडि सानो समूह छ। तर गुट नै बचाउन सक्ने अस्तित्वमा उनीहरू छैनन्। उनीहरू दाहालसँगै निकट हुन खोज्ने तर वर्षमान र जर्नादनका अगाडि ‘जोर नचल्ने’ अवस्थामा छन्।
तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ। पूर्वघटकभित्र बहुमत जिल्ला (४७ जिल्ला अध्यक्ष) को नेतृत्व यो समूहको थियो। स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायत नेताहरू नेपाल ‘क्याम्प’मा छन्। ओलीको जस्तो यो गुट एकढिक्का देखिँदैन। प्रदेश कमिटीमा नेपाल पक्षका ३ नेताले इन्चार्जको जिम्मेवारी पाएका छन्। प्रदेशका अन्य पदीय जिम्मेवारीमा उनी पक्षीय नेता छैनन्।
घनश्याम भुसाललगायतका नेताहरूले गुटबाटै बाहिरिएर अलग्गै समूहको अभ्यास गर्न खोजिरहेका छन्। भुसाल पार्टी एकताको प्रक्रियादेखि नै फरक देखिन खोजेका छन्। उनले एकताको आरम्भिक चरणमा ‘जबजको च्याप्टर क्लोज’ भएको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए। एमालेभित्र गुटको जित–हार राजनीतिमा सधैं निर्णायक हुन्थे– सचिवालय सदस्य वामदेव गौतम। उनीसँग ओली, दाहाल र नेपालको जस्तो बलियो गुट त छैन। तर आन्तरिक राजनीतिमा ‘निर्णायक स्टेप’ चाल्न सक्ने टिम छ।
किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, यमलाल कँडेल, दलबहादुर रानालगायत नेता गौतमसँग छन्। उनको समूह स्थिर प्रकृतिको छ। जो हिजो पनि उनीसँगै थियो, आज पनि उनीसँगै छ। गौतमलाई विगतमा तत्कालीन मालेमा राजनीति गरेका नेताहरूको पनि समर्थन हुने गर्छ। प्रदेश कमिटीका २८ पदाधिकारीमध्ये गौतम पक्षका २ जनाले जिम्मेवारी पाएका छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि अलग्गै समूह छ। १० वर्षअघि प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी र श्रेष्ठ नेतृत्वको एकताकेन्द्र–मसालबीच पार्टी एकता भएयता उनको समूहको बेग्लै उपस्थिति छ, जुन अहिले पनि अस्तित्वमा छ।
गिरिराजमणि पोखरेल, विश्वनाथ साह, जीवन गौतम, गिरिधरीलाल न्यौपानेलगायत नेताहरू श्रेष्ठसँग नजिक छन्। प्रदेश कमिटी पदाधिकारी चयनमा उनी पक्षका एक जनाले मात्रै जिम्मेवारी पाए। तत्कालीन माओवादीभित्र दाहालपछिको बलियो गुट रामबहादुर थापाको छ। माओवादीमा लामो समय संगठन विभागको जिम्मेवारी पाएका र मोहन वैद्यसँग अलग भएर पुनः माओवादीमै फर्र्कंदा बहुमत नेता–कार्यकर्ता ल्याएका कारण उनको गुट बलियो देखिन्छ।
स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसी, सावित्रीकुमार काफले, अमृता थापालगायत नेता उनीसँग छन्। अहिले उनलाई आफ्नै नेता–कार्यकर्ता संरक्षण गर्न नसकेको आरोप लाग्न थालेको छ।
कहाँ–कहाँ प्रकट हुन्छ गुट ?
नेकपाका एक नेताका अनुसार मूल नेतृत्वलाई निर्णायक घडीमा प्रभावित पार्न र आफूअनुकुल निर्णयमा तान्न गुट र समूह सबैभन्दा बढी सक्रिय हुन्छन्। प्रभावशाली नेतालाई मुख्यमन्त्रीमा रोक्न, क्षमतावान नेतालाई सरकार र संसदीय समिति सभापति चयन प्रक्रियामा रोक्न गुटहरू सक्रिय हुने गरेको नेताहरू नै बताउँछन्। प्रदेश पदाधिकारी चयनमा समेत पहिले बनाएको मापदण्ड लत्याउन शीर्ष नेताहरू नै गुटबन्दीमा उत्रिए।




