पाँचथर । पूर्वी नेपालको पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ। जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए।
पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ४२ वर्षीय रूपलाल मगरको शव फेला परेको हो। अर्का एक जनाको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। बेपत्ता भएकामध्ये अर्का एकको खोजी कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर गएराती पहिरोले बगाएको हो। मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए।




