काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । बिहान चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन् ।
केही दिनअघि सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । तर कांग्रेस प्रवक्ता महतले प्रचण्डको सो अभिव्यक्तिलाई थर्काएको भनेर बुझ्न नहुने बताएका हुन् ।
यसको कुनै आशंका गर्न नहुने पनि उनले बताए । ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्त्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उनले भने, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उनले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’
कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उनले बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताए । जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएकाले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहॊस