काठमाडाैँ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरुसँगै झिकिएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको थियो ।
दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाईनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । ३ वर्षअघि मोटरेबल पुल बनिसक्नु पर्ने फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको छ । निर्धारित समयमा पुलको काम सम्पन्न नहुँदा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने शिर्षकमै नेपाल सरकारको करोडौं खर्च भइरहेको छ । निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत १२० मिटर लम्बाई हुने पुलको काम पुरा हुन सकेको छैन ।




