भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना सकिएको छ। अहिले २० र २१ को गणना भइरहेको छ। भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३७ हजार २७ मत ल्याएकी छन् ।
पाँचदलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेनु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ८ हजार ५९ मतान्तरले अगाडि छन् । सुवेदीले २८ हजार ९६८ मत प्राप्त गरेका छन् । दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन्।
०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं. १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।
कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा तीन हजार ४८८ मत खसेको थियो।
०७४ को निर्वाचनमा वडा नं. १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो। मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक/एक लाख जरिवाना तिराएको थियो।
पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन्।




