काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले ११ हजार १५६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का कञ्चन अधिकारीले ७ हजार ७८ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले ७ हजार ८८८ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले ८ हजार १४७ मत प्राप्त गरेकी छिन् । यस अघि यहाँ गाैतमले अग्रता लिएका थिए ।
मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २, ३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल, सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन् । १३ वटा वडा रहेको पाँचखालमा ३ वडाको मतगणना जारी छ ।
यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरे। सो वडामा पुनः मतगणना गरिएको थियो।




