गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् ।
रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्षको सुरुदेखि नै सबै घरको न्यूनतम विद्युत् महसुल पालिकाले तिरिदिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।
बीमामा छुट र सुत्केरीलाई यातायात खर्च
चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए।
चन्द्रकोटले पालिकामै प्रसूति हुन नसक्ने गम्भीर प्रकारका बिरामीलाई पालिका बाहिर लैजानुपरेमा त्यसको यातायात खर्च दिने निर्णय गरेको छ। अस्पतालले रिफर गरेको काजगपत्रका आधारमा आवश्यक यातायात खर्च दिने निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए।
प्रतिकृया दिनुहॊस