समाजसेवा नै मेरो पहिलो प्राथमिकता हो : कुमार तामाङ (वडाअध्यक्ष उम्मेदवार, मण्डनदेउपुर)

समाजसेवा गर्न राजनीतिमा आउनु पर्दैन तर देश चलाउने माध्यम भनेको राजनीति नै रहेछ। आफ्नै गाउँ ठाउँमा रहेका धेरै समस्याहरु राम्ररी देखेका कुमार तामाङलाई सुरुमा समाजसेवा नै सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्यो र उनले आफ्नै गाउँबाट यो अभियान सुरु गरे।

युवाहरुको सक्रियतामा क्लव खोलेर आर्थिक सहयोग संकलन गर्दै विभिन्न समस्याहरुको समाधानमा अघि बढ्दै गर्दा उनले कुनै राजनीतिक संगठनमा नलागेरै पनि गाउँमा धेरै राम्रा कामको सुरुवात गरे । खानेपानीको समस्या थियो, सरसफाई तथा सडकको समस्या पनि उस्तै थियो । विकृति विसंगतिका पर्खाल चिर्नु पर्ने अवस्था पनि छँदै थियो, यतिमात्र होइन समाजमा अशिक्षा व्याप्त थियो । यी सबै समस्याहरु झेलिरहेका गाउँवासीहरुका लागि के गर्न सकिएला भनेर उनी सोचिरहन्थे ।

दशैं तिहारमा गाउँमा जम्मा हुने साथीभाईहरु सँग मिलेर थालिएको अभियानले अहिले करिव सफलता पाएको छ । उनकै सक्रियता र अध्यक्षतामा गाउँमा फ्याफुल्ला खानेपानी आयोजना सम्पन्न भएको छ । यसबाट करिव २५० घरमा धाराहरु पुगेका छन् ।

मण्डनदेउपुर नगरपालिका-१० (साविक चण्डेनीमण्डन गाविस), काभ्रेका स्थायी वासिन्दा कुमारले पछिल्ला दिनहरुमा गाउँमा सुरु गरेका विकास योजना मध्ये धेरैजसो पुरा हुन बाँकी छन् । केही पुरा भए पनि ती पर्याप्त होइनन् । नगरपालिकाकै उच्च भेगमा रहेको थामिडाँडामा पर्यटकिय भ्यूटावर निर्माण गर्नदेखि लिएर तीनधारामा एकीकृत वस्ती निर्माणमा पनि उनको सहभागीता उल्लेख्य छ । गाउँमा विजुली वत्तीको पहुँच विस्तार गर्न र हरेक घरमा शौचालय निर्माणका साथै भूकम्पपछिको पुनर्निर्माण अभियानमा पनि कुमारले आफ्नो भूमिका उल्लेख्य बनाए । स्वास्थ्य समस्यामा रहेका गाउँवासीका लागि पनि कुमारको सक्रियता महत्वपूर्ण रहेको छ ।

गाउँमा आर्थिक समस्यामा रहेका दीर्घरोगीहरुको उपचारमा आर्थिक अभियान चलाएर सहयोग जुटाउनेदेखि गाउँमा चेतना जगाउने अन्य अभियानका अभियानकर्ता पनि हुन् कुमार । सानै उमेरमा गाउँमा विकासको सुरुवात गर्न उल्लेख्य भूमिका खेलेकै कारण अहिले सबैको मनमा बसेका उनी नेपाली कांग्रेसको तर्फबाट वडा नं. १० का वडाध्यक्ष उम्मेदवार बनेका छन् । चुनाव जिते पनि वा नजिते पनि आफूले सुरु गरेका र गर्न बाँकी समाजसेवाका थुप्रै काममा आफ्नो यसअघिको सक्रियता उस्तै रहने कुमार बताउँछन् ।

उनले केही वर्ष अघिदेखि सुरु गरेको एम्बुलेन्स खरिद अभियान पुरा हुन बाँकी छ । उनको पहिलो प्राथमिकता अब यहि काम पुरा गर्नु रहेको कुमारले बताए । सामाजिक काममा विगत १५ वर्षदेखि निःस्वार्थरुपमा समय बिताइसकेका कुमार गाउँमा कसैलाई असजिलो हुँदा सहयोग गर्ने पर्याय व्यक्ति बनेका छन् ।

गाउँको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने नेतृत्वदायी भूमिका खेलेका उनी हरेक काम गर्दा पारदर्शि हुनु पर्ने धारणा राख्छन् । यस अघि विभिन्न अवसर आए पनि उनले गाउँमा विकास गर्नका लागि ती अवसरलाई भन्दा पनि गाउँकै लागि समय खर्चिए र अनवरतरुपमा गाउँको सेवाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिले डिपिआर तयार भएर काम हुन बाँकी थुप्रै योजना छन् । ती योजना सुरु गराएर पुरा गराउने उनको सोच छ । यसका साथै वडाका हरेक परिवारका समस्याहरुमा केन्द्रीत भएर काम गर्ने जोश पनि उनमा पलाएको छ । त्यसैले पनि कुमार तामाङ मण्डनभेगका जल्दा बल्दा युवाका रुपमा आफूलाई सफल बनाउन चाहान्छन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री