सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघनप्रति काउन्सिलकाे ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचनका समयमा पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको छ। आइतबार विशेष अपिल जारी गर्दै कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ/सङ्गठनका जिम्मेवार पदाधिकारीसमेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिँदा स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको जनाएको हो । काउन्सिलले पत्रकार र सम्बद्ध संस्थालाई सचेत गराउँदै यस्तो कार्य नगर्न/नगराउन भनेको छ ।

सञ्चार माध्यममाथि नियमित अनुगमन गर्दै आएको प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता जारी भएको मितिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजनका साथै अनलाइन माध्यमबाट सम्प्रेषित समाचार र समाचार–सामग्रीमाथि पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सुक्ष्म अनुगमन गरिरहेको छ। यस्तै पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ मा विद्यमान प्रावधान र निर्वाचन आचारसंहिता, २०७८ का विभिन्न दफामा रहेका व्यवस्थाका आधारमा पत्रकार एवं सञ्चार माध्यमका सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको समेत अध्ययन गरिरहेको छ।

“पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्ति/अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष विपक्षमा पत्रकार पत्रकारबीच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ ।” काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएका हुँदा यस्तो कार्य नगर्न/नगराउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता (पत्रकार) हरूलाई सचेत गराउँदछ।”

आचारसंहिता प्रतिकूलका समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचारसंहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको भन्दै काउन्सिलले पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरेको जनाएको छ । काउन्सिलले निरन्तर पत्राचार, अनुरोध, अपिल गर्दा पनि कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ/सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिनेक्रम नरोकिएका कारण पत्रकारजगतबाट नै कुनै दल, गठबन्धन वा उम्मेदवारलाई मतआह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने जस्ताकार्यबाट आम मतदातामा भ्रम पर्न गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

“कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा काउन्सिलमा सम्पर्क, उजुरी गर्नसक्ने व्यवस्था हुँदाहुँदै प्रकाशित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको ख्याल नगरी सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रतिसमेत काउन्सिलको ध्यानाकर्षण भएको छ ।” काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस