यस्ताे छ भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र, किसानलाई पेन्सनसम्मकाे सुविधा

चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो। यसपाली पाँच दल मिलेर गठबन्धन बनेको छ। पाँच दलीय गठबन्धनको भरतपुर महानगर समितिले प्रतिबद्धतापत्र तयार गरेको हो।

महानगरको लगानीमा कक्षा १ मा भर्ना हुने छोरीहरुलाई लक्षितगरी ‘छोरी शैक्षिक बीमा’ कार्यक्रम सञ्चालन गर्ने र यसले २० वर्षसम्मको शिक्षा र स्वास्थ्य बीमा हुने महत्वाकांक्षी योजना राखिएको छ। उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार र गरिब विद्यार्थीलाई सहुलियतपूर्ण ऋण र अनुदानको व्यवस्था गरिने उल्लेख छ।

कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान र कृषि पेशमा संलग्न प्रत्येक किसानको पहिचान र वर्गीकरण गरी किसान पेन्सनको व्यवस्था गरिने उनीहरुको प्रतिबद्धतामा जनाइएको छ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि पहिलो वर्षमा प्रत्येक वडाका ५० जना युवालाई कृषि, पर्यटन, वन तथा उद्योग क्षेत्रमा रोजगारी सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। दोस्रो वर्षदेखि प्रत्येक वडामा कम्तिमा सय जनालाई स्वरोजगार बनाइने दाबी गरिएको छ।

खेलकुदतर्फ प्रत्येक वर्ष महानगरस्तरिय महिला खेलकुद महोत्सव आयोजना गरिने बताइएको छ। खेलकुद विकासको लागि खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने, आवासविहिनलाई बहुतले भवन बनाई एकीकृत बस्ती विकास गर्ने र प्रत्येक घरधुरीलाई विद्युतीय चुलोमा ८० प्रतिशत अनुदान दिने महत्वाकांक्षी योजना राखिएको छ।

त्यस्तै, ६० वर्ष नाघेका दलितलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ज्येष्ठ नागरिक र परिवारविहिनहरुका लागि संरक्षण गृह निर्माण गर्नेलगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री