काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिनह प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।
हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिन्ह प्रदान गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उम्मेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि शुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउने छन् ।
४३ जिल्लामा ७५ लाख ७३ हजार मतपत्र ढुवानी
निर्वाचनका लागि हालसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।
मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेबाट मतपत्र ढुवानी शुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्ला बाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।




