एमाले अध्यक्ष ओलीको अभिव्यक्ति खेदजनक : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन्।

कांग्रेसको केन्द्रीय कार्यालयमा मङ्गलबार निर्वाचन भिडियोको विमोचन कार्यक्रममा उनले भने, “देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिनुभएको छ। सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन्।”

प्रवक्ता डा महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे। एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गरेका थिए।

उनले आफ्नो पार्टीले शालीनतापूर्वक निर्वाचन अभियान सञ्चालन गरेको बताउँदै स्थानीय सरकार जनताको घरदैलो पुग्ने सरकार भएको कांग्रेसले स्थानीय आवश्यकता र नागरिकका चाहना सम्बोधन गर्ने गरि स्थानीय तहमा नै घोषणापत्र ल्याउने पनि उल्लेख गरे।

उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्र स्थानीय सरकारलाई सबल, सक्षम, उत्तरदायी र सेवाप्रवाहमुखी बनाउने ध्येयले ल्याएको नीतिगत सङ्कल्प भएको उल्लेख गर्दै यसले जनताका अप्ठेरो समाधान गर्न सघाउने बताए। कांग्रेसले राज्य सञ्चालनको अवसर पाउँदा जहिले पनि जनता र देशको हितमा काम गरेको दाबी गर्दै प्रवक्ता डा महतले पार्टीका नीति, कार्यक्रम र पार्टीले तीनै तहका सरकारमा रहँदा गरेका कामलाई जनतासमक्ष पुर्याउन चर्चित कलाकारको टिमले निर्माण गरेको भिडियो सन्देशमूलक रहेको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस