काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालको नियमन गर्न कार्यदल गठन गरेको छ । स्थानीय तह निर्वाचन ०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरिएको हो ।
आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल’ गठन गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ । कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।
सात सदस्यीय कार्यदलको अगुवाइ आयोगको सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका एक जना इन्जिनियर गरी कार्यदलमा सात जना छन् । कार्यदलले हाल अनुगमनका स्वरूप तय गर्दै छ ।
कार्यदलले आचारसंहिता लागू हुने उम्मेदवार, राजनीतिक दल, सर्वसाधारण, कर्मचारी, संस्थाले प्रयोग गर्ने एकाउन्टको निगरानी गर्ने छ । यसरी निगरानी गर्ने क्रममा उल्लङ्घन भएको पाए सम्बन्धित निकायलाई कारबाहीका लागि पत्राचार गर्ने वा जटिल प्रकृतिको भए आयोगलाई सुझाव दिने गरी कार्य जिम्मेवारी दिइएको छ ।
निर्वाचन आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगकर्ताले संवेदनशील भएर चुनावसम्बन्धी विषयवस्तु राख्नुपर्ने व्यवस्था गरेको छ । सामाजिक सञ्जालसम्बन्धी व्यवस्थाको उल्लङ्घन भए निर्वाचन कसुर ठहरिने र कसुरबमोजिम सजाय हुने आयोगको भनाई छ ।
प्रतिकृया दिनुहॊस