फेरि काममा फर्किए २४ घण्टामै राजीनामा दिएका श्रीलङ्काका अर्थमन्त्री

एजेन्सी । यसै साताको सुरुमा अर्थमन्त्रीमा नियुक्त भई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई गत सोमबार राष्ट्रपति गोताबाय राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए । यद्यपि सबारीले एक दिनपछि राष्ट्रपतिलाई राजीनामा बुझाएका थिए तर राष्ट्रपतिले यसलाई स्वीकृत भने गरेका थिएनन् । शुक्रबार संसद्मा बोल्दै उनले अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अरू कसैले अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपतिले राजीनामा स्वीकृत गर्न नमानेपछि अर्थमन्त्रीका रूपमा आफ्नो कामलाई निरन्तरता दिने उनले बताएका छन् । सबारीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रूपमा रहन र आवश्यक काम गर्न तयार छु ।’

श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौं लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री