श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केही व्यक्तिको रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन्। नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए।

नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो। “हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगायत तथ्याङ्क हेर्यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन। तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन् त्यसको तपाईं हामी सबै मिलेर खण्डन गर्नुपर्छ”, उनले भने।

श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरे।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायत कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए। यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरूपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो।

अर्थतन्त्र यतिबेला दबाबमा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए। काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ थियो। मुलुकभित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुकभित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सिर्जना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताए।

वैदेशिक रोजगारीमा जाने नेपालीबाट विप्रेषण प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिएका थिए। कोभिड–१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीयतार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज र नेपालको पहिलो घरेलु निजी …

प्रतिकृया दिनुहॊस