देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको ज्यान गयाे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन्।

पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कठायतले चलाएको बागमती प्रदेश ०२, ०२९ प ०९३७ नम्बरको मोटरसाइकल बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जानकारी दिएको छ।

मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन्।

सल्यानको शारदा नगरपालिका–१ दारिमचौरमा मंगलबार बिहान बोलेरो जिप दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १८ वर्षीय नारायण ओली रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा सल्यान स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप आज बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।

यता धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेरबहादुर राई रहेका छन्।

काठमाडाैंबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १, ०२, ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस