एजेन्सी । रुसको युक्रेनमा आक्रमण ४० दिन पुग्दै गर्दा राजधानी कीभ वरपरका क्षेत्रबाट रुसी सेना बाहिरिएको छ । रूसी सेना पछि हट्दै जाँदा, सडकमा शवको संख्या बढ्दै गएको छ । हालसम्म कीभ वरपर बुचा लगायतका धेरै क्षेत्रबाट ४१० युक्रेनी नागरिकको शव फेला परेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
कीभको सरकारी वकिल इरिना भेनेडिकोट्भाले अहिलेसम्म ४१० शव फेला परेको यो संख्या तीव्र गतिमा बढिरहेको बताइन् । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसलाई आतंकवादी संगठनसँग तुलना गरेका छन् । उनले रुसी सेनालाई आईएसआईएसभन्दा पनि खराब भएको बताए । उनले बुचा सहरबाट पछि हट्दै गर्दा रुसी सेनाले अनावश्यक क्रोधमा सर्वसाधारणलाई मारिरहेका थिए भने युक्रेनीहरूले विरोध पनि नगरेको बताए ।
युक्रेनको कीभ बाहिरका सडकहरुमा कैयौं शव हात पछाडी बाधेर गोली हानेको अवस्थामा भेटिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । कुलेबाले बुचा नरसंहार एक सुनियोजित रणनीति भएको बताएका छन् । उनले रसियाको उद्देश्य सकेसम्म धेरै युक्रेनी नागरिकहरूलाई मार्ने रहेको बताए ।




