काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता शुरु भएको छ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता शुरु भएको हो ।
द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्रीदेउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन हुनेछ । वार्तापछि दुवै प्रधानमन्त्रीले चार परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले आजै कासी विश्वनाथ मन्दिर, साम्राजेश्वर पशुपतिनाथ महादेव मन्दिर र कालभैरव मन्दिर दर्शन गर्ने कार्यक्रम छ । उनले ललिताघाटस्थित वृद्धाश्रमको शिलान्यास गर्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्रीलाई स्वागत गर्ने र उनको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।
आइतबार उत्तर प्रदेशबाट दिल्ली फर्केपछि प्रधानमन्त्री देउवा साँझ स्वदेश फिर्ता हुनेछन् । पाँचौँ पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।




