लिभिङ विथ आइसिटीले सातै प्रदेशमा ई-बीमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रबर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम ०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुनेछ ।
चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुँदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ। पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते वीरगञ्ज र बैशाख २ गते विराटनगरमा कार्यक्रम आयोजना हुनेछ। दोश्रो चरणमा सुदुरपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ ।
यस कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ। सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितामा प्रस्तुति दिनेछन्। यसैगरी उनीहरुले आइटी क्षेत्रका सफल स्थानीय तथा केन्द्रका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन्। आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरि काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ। छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन्। स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यापार प्रवर्द्धनको लागि निःशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। हरेक प्रदेशका उत्कृस्ट १ लाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ।
हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तर्क्रिया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ। विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। स्टार्टअपहरुले निःशुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निःशुल्क गरिएको छ।
प्रतिकृया दिनुहॊस