काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज (सोमबार) नेपाल आउँदै छन् । फैजल साउदीका राजकुमार पनि हुन् ।
१२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो ।
महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो । उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो । तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए ।
साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन् । खाडी मुलुक साउदीका तर्फबाट दोस्रो पटक राजकुमारको तहमा भ्रमण हुन लागेको हो । साउदीबाट उच्चस्तरीय भ्रमण नभए पनि नेपालबाट भने विगतमा साउदीमा त्यस्ता भ्रमण भएका थिए । सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए ।
नेपालबाट साउदीतर्फ मन्त्री तहमा छिटफुट भ्रमण पनि भए । सन् २००५ मा तत्कालीन युवराजधिराज पारस साउदीका राजाको निधनमा श्रद्धाञ्जली दिन साउदी अरब गएका थिए । सन् १९८३ मा तत्कालीन राजकुमार ज्ञानेन्द्र साउदी अरब गएका थिए ।
उच्चस्तरीय भेटवार्ता हुने
परराष्ट्र मन्त्रालयले साउदीका विदेशमन्त्री औपचारिक भ्रमणमा नेपाल आउन लागेको जनाएको छ । साउदीका विदेशमन्त्रीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भिन्दाभिन्दै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीलाई दिवाभोज दिने भएका छन् ।
साउदीका विदेशमन्त्री २४ घण्टा नेपालमा रहने छन् । उनको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहने छन् । दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । उनी आइतबार श्रीलंका आइपुगेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोबाट साउदी विदेशमन्त्री फैजल सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । उनी चार्टड विमानमा नेपाल आउने छन् । फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ ।
एक साताअघि मात्रै काठमाडौस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई विदेशमन्त्री फैजल नेपाल भ्रमणमा आउन चाहेको बताएको थियो । हाल टर्की भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का साउदीका विदेशमन्त्रीको भ्रमणकै लागि सोमबार बिहान स्वदेश फर्किंदै छन् ।



