नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन्।
शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारित नभएको भए देश अस्थिर अवस्थामा जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।
एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भए पनि भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए ।
एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भए पनि त्यसमा रहेका केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाइ थियो। ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’ उनले भने, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाइ हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ।’
त्यस्तै, पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिएका छन् ।




