एमाले अध्यक्ष केपी ओलीले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन्।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताए।
अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए।
ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउने खालको हुन नहुने पनि बताएका छन्। उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउने खालको हुन नहुने बताएका हुन्। बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ।
‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ।’




