एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।
सामाजिक सञ्जालमा यसबारे पोष्ट गर्दै उनले लेखेका छन्, ‘म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।’ बान्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालयहरु भएको ठाउँ हो । यसमा उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडक पारी देखाइरहेको थियो ।
यसका साथै उनले रुसलाई अहिले नै नरोक्ने हो भने नेटोका अन्य सदस्य राष्ट्रहरुको पनि यस्तै हालत हुने चेतावनी समेत दिएका छन् । एबीसी न्युजसँग बोल्दै उनले भनेका, ‘पहिलो शिकार हामी भयौं अब दोस्रो तपाईहरु जोकोही पनि हुन सक्नुहुन्छ । किनकी राक्षसले जति धेरै खायो उसलाई झन् झन् बढी चाहिनेछ ।’
यसरी युद्ध शुरु भएदेखि एकै हप्तामा तीन पटक हत्याको प्रयासबाट बचेका जेलेन्स्कीले अझै पनि किभ नछाड्ने अडान कायम राखेका छन् ।




