आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको संचिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने बताए ।

“नयाँ नयाँ टेक्नोलोजी तथा गुणस्तरिय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम मुलुक बाहिर जाने गरेको छ । यस सम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ”, उनले भने ।

८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफूले पहल गर्ने बताउँदै उनले यसका लागि लिखित सुझावहरु पेश गर्न आग्रह गरे । आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समूहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराए ।

“अहिले नेपालमा गुणस्तरिय कागज उत्पादन हुन सकेको छैन । यो अभावलाई ध्यानमा राखेर आइएमई समूहले कागज उद्योगमा लगानी विस्तार गरेको छ। यो नेपालमै गुणस्तरिय कागज उत्पादनमा कोशेढुंगा सावित हुनेछ भन्ने हामीले विश्वास लिएका छौं”, उनले भने । सरकारी तथा निजी मुद्रण उद्योगबीचको विभेदको बारेमा बोल्दै उनले सरकारले सबै उद्योग व्यवसायलाई समान दृष्टिले हेर्नुपर्ने धारणा राखे ।

“सरकारी स्वामित्वका मुद्रण उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित मुद्रण उद्योगबीच विभेद हुने गरेको गुनासो सुनेको छु। यदि त्यस्तो छ भने यसलाई तत्काल हटाउन जरुरी छ । महासंघ यहाँहरुको मागप्रति आफ्नो ऐक्यवद्धता जाहेर गर्छ र नेपाल सरकारले ल्याउने आगामी बजेटमा यसलाई समाधान गर्ने गरि कार्यक्रम ल्याउन संयुक्तरुपमा पहल गरौँ”, उनले भने ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस