नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा बमभन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। सभापतिमा विजयी भएका नारायणदत्त भट्टले एक हजार ३५९ मत पाएका छन्, भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढी स्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो। पहिलो चरणबाट बाहिरिएको कोइराला समूहले वमलाई समर्थन गर्ने घोषणा गरेको थियो। पहिलो चरणमा कोइराला पक्षले १ सय ९७ मत ल्याएको थियो।
कोइराला पक्षले सहयोग गर्ने घोषणा गरेपनि वमको मत भने पहिलो चरणभन्दा दोश्रो चरणमा घटेको छ। प्रकाश वमले पहिलो चरणमा १ हजार १६९ मत ल्याउँदा दोश्रो चरणमा उनको मत घटेको छ।
कांग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्राे चरणको मतदानमा २ हजार ४ सय ६७ मतदाता सहभागि भएका थिए।



