सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्वाेच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका हुन्।
सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको बताए।
प्रेस नोट
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।
देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।
उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।
श्रीधर न्यौपाने
प्रेस विज्ञ
प्रतिकृया दिनुहॊस