उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ।
कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीयस्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।
कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे। कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो, जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रवर्द्धन गर्दछ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छ।




