स्थानीय चुनाव : आजदेखि दल दर्ता, के-के विवरण बुझाउनु पर्छ ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु गर्दैछ । १५ फागुनसम्मका लागि दल दर्ता खुला गरेको आयोगले जनाएको हो । सरकारले ३० वैशाखमा एकै चरणमा सम्पन्न गर्ने गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

आयोगमा १०६ वटा दल दर्ता भएका छन् । आयोगले दल दर्ताका लागि दलहरूले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने जनाएको छ । यस्तै, ०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनु पूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने भनेको छ ।

०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले पनि ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन पेस गर्दा अलग-अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

आयोगले जारी गरेको सूचनाअनुसार दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्यासमेत निवेदनमा खुलाउन आयोगले भनेको छ । दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि जानकारी गराउनुपर्ने आयोगको भनाइ छ ।

आयोगले दलहरूलाई निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमुना पनि दल दर्ताका क्रममा पेस गर्न भनेको छ । दल दर्ताका लागि सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । …

प्रतिकृया दिनुहॊस