प्रचण्ड भन्छन्- ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको बताएका छन् । २७औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले इतिहासमा पनि जनयुद्ध मुक्तियुद्धका रूपमा स्थापित भइसकेको दाबी गरे । ‘नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको थियो र अहिले पनि छ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ ।’

आज फागुन १ गते २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले छरिएर रहेका माओवादी घटकहरूलाई एकै ठाउँमा समेटिन आग्रह गरेका हुन् ।

‘यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु’, सन्देशमा प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरूलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’

जनयुद्ध दिवसका अवसरमा अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

देशी/विदेशी प्रतिक्रियावादी शक्ति जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको उनको आरोप छ । ‘२७ औँ जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्दछु,’ प्रचण्डले सन्देशमा भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस