काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसद्मा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
परियोजनामा त्रुटि भए संसद्बाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम भएको उनको भनाइ छ । ‘सत्यको मुख बन्द भयो भने झुटोको मुख चल्छ । एमसीसीबारे त्यस्तै भएको छ । अब, एमसीसीबारे बहस गर्नुपर्ने ठाउँमा हुन सकेको छैन । झुटो प्रचारले जनतामा भ्रम छरिएको छ,’ उनले भने ।महतले आफूले प्रवक्ताको पद मागेको नभई स्वीकार गरेको बताए । ‘प्रकाशशरणले (प्रवक्ता पद) मागेको होइन, स्वीकार गरेको हो,ड उनले भने ।
सञ्चारकर्मीको मूल उद्देश्य सत्यतथ्य बाहिर ल्याउनु हो भन्दै उनले आफूले सबै पत्रकार साथीसँग घनिभूत सम्बन्ध कायम राख्ने बताए । उनले पार्टीनिकट पत्रकार संगठन प्रेस युनियनलाई स्वतन्त्रतापूर्वक महाधिवेशन गर्न सुझाव पनि दिए । ‘प्रेस युनियनले महाधिवेशन गर्न चाहँदा पनि गर्न सकिरहेको छैन’, उनले भने, ‘यसमा पार्टीको हस्तक्षेप हुनेछैन, स्वतन्त्र रूपमा महाधिवेशन गर्नुहोला ।’
सो अवसरमा नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष समीरजंग शाहलाई पनि बधाई ज्ञापन गरिएको छ । नेपाल प्रेस युनियनका अध्यक्ष प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कांग्रेस पार्टी मिडियामैत्री हुनुपर्ने सुझाए ।
प्रतिकृया दिनुहॊस