काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा करिब डेढ घण्टा कुराकानी छलफल भएको हो ।
भेटमा अध्यक्ष प्रचण्डले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा नेता कोइरालाले भने कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका थिए । ‘सरकारमा गठबन्धन छँदैछ, आगामी सरकारमा पनि गठबन्धन गर्न सकिन्छ,’ कोइरालाले भनेका थिए, ‘तर, अहिले चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो ।’
उनले माओवादीका कार्यकर्ताले रुखमा भोट नहाल्ने जिकिर गरे । ‘कांग्रेसले तपाईँलाई भोट हाल्छन् । तर, तपाईँका कार्यकर्ताले रुखमा भोट हाल्दैनन् । बरु एमालेतिरै लाग्छन्,’ ‘कोइरालाले भनेका थिए, ‘त्यसैले गठबन्धन गर्दा तपाईँलाई र कांग्रेस दुवैलाई फाइदा छैन ।’
यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन दाहाललाई आग्रह गरेको सिंहले बताए । ‘राष्ट्रिय सहमति जुटाई संसद् खुलाउन पहल गर्नुस्, एमसिसीको बारेमा त्यहीँबाट निकास दिनुपर्छ,’ कोइरालाले भने । कोइरालाले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीलाई उनको निवास बालकोटमै पुगेर भेट गरेका थिए ।




