काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आजका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको जानकारी दिए । ‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णय गर्न सकिन्छ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘बैठकको मुख्य एजेन्डा कार्यसम्पादन समिति गठन हो ।
१४औँ महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति परेको हो ।
कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष तोकिएको छैन । यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्न सक्ने विधानमा व्यवस्था छ ।
निर्वाचनबारे पनि छलफल
केन्द्रीय समिति बैठकमार्फत आगामी स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन र अवरुद्ध संसद् सुचारुका विषयमा पनि छलफल गर्ने तयारी गरेको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट हुने बैठकमा तीनै तहका निर्वाचनका विषयमा पनि छलफल हुने भएको हो ।
केही दिनअघि डा. शेखर कोइरालाले नेतृत्व गरेको कांग्रेसको संस्थापन इतर समूहले पनि निर्वाचनसहितका समग्र राष्ट्रिय राजनीतिमा विषयमा केन्द्रीय समितिमा छलफल हुनुपर्ने माग राखेको थियो । सत्ता गठबन्धनमा पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने भन्नेमा विवाद रहँदै आएको छ ।




