छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ।
गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेकाे छ। यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ।
गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार/चार, सप्तरी, सर्लाही र पर्सामा एक/एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए। योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमितहरु सबै होम आइसोलेसन रहेका छन्।
अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ थियो। कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ।
सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश नं २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ। सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिए। उनका अनुसार एक मात्र डोज खोप लगाउने सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिरहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहॊस