काठमाडाैँ । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् ।
जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिमपातका कारण गत बिहीबार दिउँसो हिमपहिरोमा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । ‘खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ’, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने ।
उनका अनुसार एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल हुन सकेन । सोमबार बिहानदेखि ४० स्थानीयवासीले छन्त्याल बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।
दैनिक स्थानीयवासीले समूह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसिरहेको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।




