सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका- ६ कामत गाउँका नन्दलाल माझीले घर खर्च र औषधि उपचारका लागि स्थानीय ठेकेदार इन्द्रजित राउतसँग चार वर्षअघि ५० हजार ऋण लिएका थिए ।
त्यही ऋण तिर्न भन्दै ठेकेदारले मजदुरीका लागि उनलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्र पुर्याए, बँधुवा मजदुर बनाएर काममा जोताए । तर, तीन वर्ष जोतिँदा पनि ऋण सकिएन, बरु नन्दलालको जीवन सिद्धियो । ठेकेदारले थकान नलाग्ने औषधि खानामा मिसाएर दिने गरेको थियो । जसका कारण उनी चौबिसै घन्टा काम गर्थे । त्यसकै कारण गत ८ कात्तिकमा ३९ वर्षकै उमेरमा नन्दलालको मृत्यु भयो ।
नन्दलालको मृत्युपछि तीन सन्तान, श्रीमती, बाबुआमा र बहिनी गरी सातजनाको परिवार बिचल्लीमा परेको छ । श्रीमान्को मृत्युपछि नाबालक सन्तानकी आमा सियान्ती देवी आफै सम्हालिन सकेकी छैनन् । एक मात्र छोराको अल्पायुमै मृत्युले आमा अहिलेसम्म अर्धचेत छिन् । परिवार धान्ने जिम्मा ५५ वर्षका बुबा गुनौर माझीको काँधमा आएको छ । आफ्ना पतिलाई ठेकेदारले मजदुरीका लागि बलजफ्ती भारत पुर्याएको पत्नी सियान्तीले बताइन् । श्रीमान् गत दसैँमा घर आउन खोज्दा पनि ठेकेदारले नदिएको उनको भनाइ छ । मृत्यु भएको अघिल्लो राति १० बजेतिर उनको श्रीमान्सँग फोनमा कुराकानी भएको थियो ।
तिहारमा आउन गरेको आग्रहमा उनले ठेकेदारले पैसा नदिएका कारण आउन नसकिने बताएका थिए । त्यसको भोलिपल्ट नै नन्दलालको मृत्युको खबर आयो । स्थानीय धनी माझीका अनुसार गाउँमा चन्दा संकलन गरेर नन्दलालको काजकिरिया गरियो । नन्दलाल घरको एक मात्र आधार थिए । ठेकेदारले दिने पाँच-दश हजार घरमा दिएर खर्च चलाउँदै आएका थिए । ‘दैनिक छाक टार्न नै धौ-धौ छ, यी लालाबालालाई लगाउने लुगाफाटा कहाँबाट जुटाउने, कसरी पढाउने ?’ पत्नी सियान्तीले भनिन् । माझी परिवारको सम्पत्तिको नाममा ऐलानी जग्गामा बनेको काठको घरबाहेक केही छैन ।
२० हजार ऋण लिएका जगदीश दुई छोरासहित बँधुवा मजदुर बनाइए, तीन वर्षमा पनि ऋण सकिएन, बरु जगदीशको जीवन सकियो
कामत गाउँकै जगदीश माझी पनि २० हजार ऋण लिएकै कारण इन्द्रजितकोे चंगुलमा फसेका थिए । सजिलैसँग २० हजार दिएका ठेकेदारले भारतमा रोजगारी मिलाइ दिने आश्वासन पनि दिए । तीन पुस्ताका १७ सदस्यसहित संयुक्त परिवारमा बस्ने जगदीशलाई लाग्यो, बरु ऋणधन गरेर एउटा घर पनि बनाउनुपर्यो, ठेकेदारले भनेअनुसार मजदुरी गर्नुपर्यो ।
इन्द्रजितले नै उनलाई दुई लाखमा १० धुरको घडेरी मिलाइदिए र ऋण लिने साहु पनि खोजिदिए । मिटरब्याजी साहुकार सञ्जय गुप्तासँग लिएको एक लाख ६० हजार र इन्द्रजितसँग लिएको २० हजार गरी एक लाख ८० हजार रुपैयाँ जग्गाधनी रमाकान्त कापडलाई बुझाएर घडेरी खरिद गरे । र, परिवारको टाउको लुकाउने सानो छाप्रो बनाए ।
त्यही ऋणले जगदीशलाई ठेकेदारले भनेअनुसार भारतको चिस्यान केन्द्रमा बोरा बोक्न पुर्यायो । उनी मात्रै होइन, उनका दुई छोरा सकिल र सुकिल पनि तीन वर्षसम्म ठेकेदार इन्द्रजितको बँधुवा मजदुर बने । मजदुरी गर्न जाँदा माहिलो छोरा सकिल १६ वर्ष र कान्छो छोरा सुकिल १५ वर्षका मात्र थिए । ठेकेदारले खुवाउने अस्वाभाविक खानपिनले जगदीशले गत ८ कात्तिकमा ज्यान गुमाए ।
बुबाको शवसँगै छोराहरूलाई पनि घर फर्काइयो । अप्राकृतिक खानपिनका कारण सुकिल पनि बिरामी नै थिए । आफूहरू वेलावेला घर आउँदा र फेरि भारत जाँदा भाडाबाहेक ठेकेदारबाट थप पैसा नपाएको सुकिलले बताए । घरमा कहिलेकाहीँ आपत् पर्दा पाँच हजार दिए पनि ठेकेदारले तीन ठाउँमा लेखेर १५ हजार पुर्याउने गरेको र कागजमा जबर्जस्ती हस्ताक्षर गराएको उनको भनाइ छ । ‘तीन जनाले तीन वर्ष काम गर्दा पनि ठेकेदारले अझै डेढ लाख ऋण तिर्न बाँकी रहेको बताउँछ,’ उनले भने । परिवार चलाउन अहिले उनी घरनजिकैको इँटाभट्टामा काम गर्छन् ।
जागिरको आश्वासनमा सात वर्षअघि भारत लगिएका सुमनको पनि शव फर्कियो
सर्लाहीकै ईश्वरपुर नगरपालिका- ३ भक्तिपुरका सुमन भुजेललाई ठेकेदार इन्द्रजित राउतले ०७१ मा राम्रो जागिर लगाइदिने भनेर भारतको चिस्यान केन्द्रमा मजदुरी गर्न लगेका थिए । सात वर्षसम्म उनको अत्तोपत्तो थिएन । गत दसैँमा सुमन घर फर्किए । आमा निरु भुजेलका अनुसार दसैँ मानेर काममा फर्किँदा सुमनले भनेका थिए, ‘फागुपूर्णिमामा फेरि घर आउँछु र फेरि काम गर्न भारत जाँदिनँ ।’
तर, त्यसको साता दिनपछि अर्थात् ९ कात्तिकमा नै उनको शरीर मृत अवस्थामा घरको आँगनमा आइपुग्यो । आँगनमा लडेको छोराको शव र पिँढीमा टोलाएका दुई नातिनातिनाका अनुहार पालैपालो हेर्दै आमा निरु भक्कानिइन् ।
सानैमा आमाको काख गुमाएका १३ वर्षका नाति र ११ वर्षकी नातिनी सुमनको पनि मृत्युपछि पूणर् टुहुरा भए । आफूले छोराको शवसँगै भारतीय प्रहरीले तयार गरेको एक खेस्रो मुचुल्का मात्र पाएको निरुले बताइन् । निरु र उनका श्रीमान् दुवै दीर्घरोगी छन् । उनीहरूलाई टुहुरा नातिनातिनाको भविष्यको सबैभन्दा धेरै चिन्ता छ ।
… …
सर्लाही चन्द्रनगर गाउँपालिका- ६ का ठेकेदार इन्द्रजित राउतले ऋणबापत दिएको पैसा असुल्ने नाममा स्थानीय ३२ युवालाई वर्षौँदेखि भारतमा बँधुवा मजदुर बनाएका छन् । उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा सामान लोड-अनलोड गर्ने ठेक्का लिएका उनले बँधुवा मजदुर बनाएकाहरूबाट अधिकतम समय काम गराउन थकान नलाग्ने औषधि चियामा राखेर खुवाउने गरेका छन् । जसका कारण तीनजनाको मृत्यु भएको छ भने सातजना जीवनमरणको दोसाँधमा घर फर्काइएका छन् । २२ युवा अझै चिस्यान केन्द्रमै बन्धक छन् ।
चन्द्रनगर- ६ कामत गाउँका नन्दलाल माझी र जगदीश माझीको मृत्यु भएको छ । उनीहरू दुवै ३९ वर्षका थिए । कामत गाउँकै छिमेकमा पर्ने ईश्वरपुर नगरपालिका- ३ भक्तिपुरका सुमन भुजेलले पनि सोही चिस्यान केन्द्रमै प्राण त्यागे । सुमनको शव गत ९ कात्तिकमा तथा नन्दलाल र जगदीशको १० कात्तिकमा गाउँ आइपुगेको थियो ।
थकाइ लाग्न नदिन अखाद्य पदार्थ समेत खुवाएर दैनिक २०-२२ घन्टासम्म काममा लगाउँदा उनीहरूको मृत्यु भएको गम्भीर बिरामी हालतमा घर फर्काइएका कामत गाउँकै २५ वर्षीय मञ्जय माझीले बताए । भाग्यले बाँचेर फर्किएका उनले ७ कात्तिकको कहालिलाग्दो रात सम्झिँदै भने, ‘मेरो समूहमा १० जना थियौँ । नियमितजस्तै आलु, प्याजलगायत बोरा दिनभर र राति ११ बजेसम्म गाडीमा लोड-अनलोड गर्यौँ । चर्को थकाइ लागेको थियो ।
मध्यरात १२ बजे सधैँझैँ ठेकेदारकै मान्छेले खाना बनाएर दिए । राति पनि गाडीहरू लोडको लाइनमै भएकाले खाना खाएर काममै फर्किनुपर्ने बाध्यता थियो । नगए ठेकेदारले गालिगलोज मात्रै होइन, मर्ने गरी भकुर्थे । धेरै काम गरेर शरीर गल्दा हामीलाई एक प्रकारको चिया पिलाउँथे, जसले ऊर्जा दिलाउँथ्यो, भोक र थकाइको महसुस नै हुँदैनथ्यो । त्यस दिन पनि रातभर काम लगाउन त्यस्तै चिया पिलाए । पक्कै पनि कुनै अखाद्य पदार्थ मिसाएको चिया हो त्यो । हामी काममा निस्कियौँ । बिहान ३ बजेसम्म काम गरेपछि केही साथीलाई बान्ता चल्न थाल्यो । त्यसपछि सबै सुत्न गयौँ ।’
मञ्जयका अनुसार ८ कात्तिकको बिहान ८ बजे सुमन ओछ्यानमै अस्ताए । त्यतिवेलासम्म बान्ता गरिरहेका नन्दलाल र जगदीश चिन्ताजनक अवस्थामा थिए । हारगुहार गरेपछि उनीहरूलाई ठेकेदारका मान्छेले नजिकैको सामान्य अस्पताल पुर्याए । केही समय सलाइन पानी चढाएर कोल्डस्टरमै फर्काए । समस्या झन् बढ्दै गएपछि ठूलो अस्पताल लगिदिन ठेकेदारसँग अनुनय गरे । आलु बोक्ने ट्र्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा उनीहरूको बाटोमै ज्यान गयो ।
जगदीशसँगै बधुवा मजदुर बनाइएका छोरा सुकिल पनि बिरामी परेका थिए । आँखैअघि बुबाको मृत्यु देखेका सुकिलले भने, ‘सुरुमै राम्रो अस्पताल पुर्याइदिन अनुरोध गरिएको हो । बान्ता गरेको मान्छेलाई पनि किन ठूलो अस्पताल लैजानुपर्यो भनेर हकारे । धेरै कर गरेपछि आलु बोक्ने ट्र्याक्टरमा राखेर लैजाँदै थिए, बुबा बाटैमा बित्नुभयो । वेलैमा राम्रो उपचार पाएको भए बाँच्नुहुन्थ्यो होला ।’ नयाँ पत्रिका दैनिकबाट




