प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो। मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो।
बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधिसहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८’ गठनको प्रस्ताव पेस गरेका थिए। जसलाई प्रदेश सभा सदस्यहरुले पारित गरेका हुन्।
प्रदेश २ को नामाकरणका लागि यसअघि चार वटा नाम प्रस्ताव भएका छन्। बिहीबार प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन्।
नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ। कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सो नाम प्रस्ताव गरेका हुन्।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन्। उनी पर्साका सांसद हुन्।




