काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशनमा सहभागी नहुने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीलाई फाेन गरी पार्टीकाे आजदेखि सुरु हुने राष्ट्रिय महाधिवेशनकाे उद्घाटन सत्रमा आउन निम्ता दिएका थिए ।
जवाफमा ओलीले आफू झापामा भएकाले आफ्नाे सट्टा शंकर पाेखरेललाई पठाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी फुटेसँगै दुबैकाे सम्बन्धमा दरार पैदा भएकाे छ । सार्वजनिक कार्यक्रममा दुवैले एक अर्काकाे आलाेचना गर्दै आइरहेका छन् ।
एमालेकाे १०औं महाधिवेशनमा प्रचण्डले निम्ता पाए पनि उनी सहभागी भएका थिएनन् । उनले आफ्नाे सट्टा लीलामणि पाेखरेललाई पठाएका थिए । पार्टीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूलाई निम्ता दिएकाे छ ।
महाधिवेशनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मनोनित गरेका छन् ।




