आज विवाह पञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।

उक्त महोत्सवपहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ। यसैगरी, देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजाआराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य